बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए) ले अक्टोबर २६ मा आफ्नो दोस्रो सिजनको देउसी भैलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। हिमालयन एडल्ट डे केयरमा सम्पन्न यस कार्यक्रम दिउँसो १२ बजे देखि ६ बजेसम्म संचालन भएको थियो, जसमा ११ वटा प्रतिभाशाली टोलीहरूले भाग लिएर नेपाली संस्कृति झल्काउने उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिएका थिए।
बीएसएका अध्यक्ष अर्जुन रासाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले विविध नेपाली समुदायहरूलाई एकत्रित गर्दै सांस्कृतिक प्रतियोगितामार्फत नेपाली परम्परा र सम्पदाको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो। प्रतियोगितामा द डिभाइन म्युजिकल ग्रुप कोलम्बस, ओहायोबाट प्रथम स्थान हासिल गरेको छ भने सिन्सिनाटीको हाम्रो देउसी भैलो समूह उपविजेता बनेको छ। यसैगरी, उत्कृष्ट तिहार पोशाकको लागि द ग्रेटर वुमन देउसी भैलो समूह र उत्कृष्ट टोली समन्वयको लागि हिमालयन म्युजिक एकेडेमी किड्स ग्रुपलाई विशेष पुरस्कार प्रदान गरिएको छ।
बीएसएले यस अवसरमा नेपाली संस्कृति र परम्पराको संरक्षणमा निरन्तर समर्पणका लागि श्याम गौतमलाई विशेष सम्मान प्रदान गर्दै उनको योगदानको कदर गरेको छ। यस कार्यक्रमको सफलतामा सहयोग पु¥याउने सबै प्रायोजकहरू, मिडिया पार्टनरहरू र समुदायका संघ-संस्थाहरूलाई बीएसएले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यो प्रतियोगिता नेपाली परम्पराहरूलाई आगामी पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण प्रयासको रूपमा लिइएको छ, जसले भविष्यमा पनि नेपाली समुदायको एकता र सांस्कृतिक सम्पदाको जगेर्नामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।